कुरानको डिभिडी नेपाली भाषामा
काठमाडौँ, २५ असोज । मुस्लिम धर्मावलम्बीको धर्मग्रन्थ कुरानको डिभिडी पहिलोपटक नेपाली भाषामा निकालिएको छ ।
मानव विकास प्रतिष्ठानले निकालेको कुरानको नेपाली भाषाको डिभिडी सार्वजनिक भएपछि अन्य भाषा नबुझ्ने नेपालीका लागि लाभदायक हुनेमा आयोजित कार्यक्रमका वक्ताले जोड दिएका छन् ।
डिभिडी सार्वजनिक गर्न आयोजित कार्यक्रममा पूर्व गृह राज्यमन्त्री रिजवान अन्सारीले मानव जातिलाई शान्त र सुखी सम्पन्न बनाउनु धर्मको सार भएको बताउनुभयो ।
पूर्व न्यायाधीश ताहिर अलि अन्सारीले नेपाली भाषामा कुरानको डिभिडी निर्माण भएपछि यसको ज्ञान आर्जन गर्न चाहनेका लागि सहज भएको बताउनुभयो ।
सो अवसरमा इस्लामी सङ्घ नेपालका अध्यक्ष मौलाना नजरुल हुसेन फलाही, विश्व हिन्दू महासङ्घका पूर्व अध्यक्ष एवम् अन्तर धार्मिक परिषद्का अध्यक्ष दामोदर गौतम, नेपाल बौद्ध महासङ्घका अध्यक्ष फुबु छेम्बे शेर्पा, डा केबी रोकाया र डा शमी अहमदलगायतका वक्ताले सबै धर्मको मूल उद्देश्य अहिंसा, करुणा र दया भएकामा जोड दिनुभएको थियो ।
0 comments:
Post a Comment