Tuesday, October 13, 2015

प्रभावकारी बन्यो भकारो सुधार

पाल्पा, २६ असोज । कृषि विकास मन्त्रालयअन्तर्गत माटो विकास निर्देशनालयको आर्थिक सहयोगमा जिल्ला कृषि विकास कार्यालयको प्राविधिक सहयोगमा सुरुवात भएको भकारो सुधार कार्यक्रम यहाँ प्रभावकारी भएको छ ।

विसं ०६५÷६६ देखि सुरुवात भएको सो कार्यक्रमबाट जिल्लाका ४५० कृषक लाभान्वित भइसकेका छन् भने यस आवमा २०० कृषकलाई सहयोग गरिने जानकारी जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत वैकुण्ठ खनालले दिनुभयो ।

कार्यक्रमबाट जिल्लाको रामपुर नगरपालिका, सोमादी, नायर नम्तलेस, खानीगाउँ, चापपानी दोभानजस्ता २० भन्दा बढी गाविसमा कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन भएको खनाल बताउनुहुन्छ ।

परम्परागत रुपमा रहेको भकारोको तुलनामा सुधार गरेपछि गाईभैँसीको मलमूत्रको राम्रोसँग व्यवस्थापन भएकाले नै बाली उत्पादनमा १५ प्रतिशत वृद्धि भएको खस्यौली गाविसकी कृषक गोमा आचार्यको भनाइ छ ।

गोठदेखि नै कुलो बनाई नजिक खाडल निर्माण गरी मलमूत्र सङ्कलन गर्ने तथा मलखादको व्यवस्थापन पनि हुँदा कृषि उत्पादनमा पनि फरक भएको सोमादी गाविसका अगुवा कृषक तुल्सीराम पोखरेलले बताउनुभयो ।

अभियानमुखी भकारो सुधार कार्यक्रमअन्तर्गत प्रतिगोठ रु पाँच हजार २०० का दरले कृषकलाई वितरण गरिएको र हालसम्म ख्याह, देउराली गाविसमा ४८ वटा, रामपुरस्थित विजयपुर कृषि सहकारी संस्थामा ७६ वटा, बराङदी चापपानी, खानीगाउँमा १२६ वटा, खस्यौली, रामपुर, नायरनम्तलेस दोभानमा २५ वटा भकारो सुधार भइसकेका छन् ।

रासायनिक मलको मूल्यवृद्धि, त्यसैमाथि सहज रुपमा आपूर्ति हुन नसक्नुजस्ता कारण र विषादीले मानव स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्ने भएकाले स्वस्थ बाली उत्पादन गर्ने कार्यक्रमको उद्देश्य रहेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख राजेन्द्र कोइरालाले बताउनुभयो ।

0 comments:

Post a Comment

!!!!!!!!!!

Popular Posts

Categories

Blog Archive