Sunday, October 11, 2015

प्रा डा ढकालका चार कृति विमोचित

काठमाडौँ, २३ असोज । नेपाल प्राध्यापक सङ्घका पूर्व अध्यक्ष प्रा डा भूपति ढकालका चार कृति आज बजारमा आएका छन् ।

यहाँ आज आयोजित कार्यक्रममा ‘यै आजको हाँक छ’ र ‘विविध सन्दर्भका छोटा–लामा अनुवादित कविताहरू’ कविता सङ्ग्रह तथा ‘स्वदेशिएका जोडी’ उपन्यास र ‘निष्ठाको राजनीति गर्ने नेपाली काँग्रेसका साथीहरूलाई हार्दिक आह्वान’ नामक कृति विमोचित भएका हुन् ।

कविता सङ्ग्रहमा विसं २०२२ देखि विसं २०७१ सम्मका विविध विषयसँग सम्बन्धित कविता छन् । त्यस्तै, उपन्यासमा नेपाली कुन रूपमा कसरी विदेशिन बाध्य छन्, तिनको अवस्था कस्तो हुन्छ र के कारणले विदेशिन्छन् भन्ने कुरा समावेश गरिएको छ ।

अर्को कृतिमा निष्ठाको राजनीति गर्न राजनीतिज्ञलाई सुझाव दिइएको छ भने मुलुकको राजनीतिक इतिहास तथा घटनाक्रममा काँग्रेसले खेलेको अभिभावकीय भूमिकाका बारेमा लेखिएको छ ।

नेपाली काँग्रेसका नेता कुलबहादुर गुरुङले ती कृतिको विमोचन गर्दै लेखकले राजनीतिका अनुभवलाई साहित्यमा प्रयोग गरेकाले विभिन्न कालखण्डका घटनालाई सहजै बुझ्न सकिने विचार व्यक्त गर्नुभयो । उहाँले गरिब निमुखा वर्गको सेवा तथा मुलुकको समृद्धिका लागि काँग्रेसको आदर्श सबैका लागि प्रेरणादायी हुनुपर्नेमा जोड दिँदै समय परिस्थितिले गर्दा निष्ठाका राजनीति गर्नेहरू मूलधारमा आउन नसकेकाले काँग्रेसभित्र नै आज काँग्रेस खोज्नुपर्ने अवस्था आएको बताउनुभयो ।

नेपाल प्राध्यापक सङ्घका अध्यक्ष रामेश्वर उपाध्याय, प्रा टेकनाथ ढकाल, साहित्यकार तुलसी भट्टराई तथा टीकाराम अर्यालले कृतिका बारेमा समीक्षा गर्दै पञ्चायती व्यवस्थाको सामाजिक अवस्था बुझ्न तथा मुलुकमा सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि पुस्तक सबैका लागि उपयोगी रहेको बताउनुभयो ।

लेखक ढकालले राजनीतिक दल तथा राजनीतिज्ञले जनताको सेवालाई केन्द्रमा राखेर कार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

0 comments:

Post a Comment

!!!!!!!!!!

Popular Posts

Categories

Blog Archive