Tuesday, October 13, 2015

हवार्ई इन्धन आपूर्तिका लागि वायुसेवा निगमलाई अनुमति,आज निजी सवारी साधनलाई इन्धन

काठमाडौँ, २६ असोज । नेपाल आयल निगमले हवार्ई इन्धन आपूर्ति गर्ने जिम्मा नेपाल वायुसेवा निगमलाई अनुमति प्रदान गरेको छ ।

आयल निगम व्यवस्थापन समितिको सोमवार बसेको बैठकले सो निर्णय गरेको निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिनुभयो । निगमका अनुसार हवाई इन्धन आपूर्तिका लागि नेपाल वायुसेवा निगमले मनसायपत्र दर्ता गराएसँगै आयल निगमले सो निर्णय गरेको हो ।

विभिन्न बहाना बनाई भारतले पेट्रोलियम पदार्थको आयातमा रोक लगाएपछि निगमले गएको बिहीबार अन्तर्राष्ट्रिय बजारबाट पेट्रोलियम पदार्थ आयातका लागि मनसायपत्र आह्वान गरेको थियो ।

निगमका अनुसार पेट्रोलियम पदार्थ आपूर्तिका लागि २३ वटा विभिन्न फर्म तथा कम्पनीले निवेदन दिएका थिए । हवाई इन्धन आपूर्तिका लागि नेपाल वायु सेवा निगमलाई जिम्मा दिइएपनि अन्य पेट्रोलियम पदार्थ आपूर्ति गर्न भने कस्लाई दिने भन्ने निर्णय हुन बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।

आयल निगमले आह्वान गरेको आशयपत्रमा कुनै पनि मुलुकबाट तथा जुनसुकै मार्गबाट पनि पेट्रोलियम पदार्थ आपूर्ति गर्न सकिनेछ । निगमले आपूर्ति व्यवस्थालाई सहज बनाउने हेतुले इच्छुक आपूर्तिकर्ताले तीन दिनभित्र अहिलेलाई १५ दिनका लागि प्रतिदिन डिजल २०० किलोलिटर, पेट्रोल १०० किलोलिटर, हवार्ई इन्धन र मट्टितेल २००÷२०० किलोलिटर र खाना पकाउने ग्यास १०० मेट्रिक टन आपूर्ति गर्नुपर्नेछ । सो परिमाणको पेट्रोलियम पदार्थ ल्याउन सक्ने जुनसुकै फर्म तथा संस्थाले निवेदन दिन सक्ने जनाएको थियो ।

आज निजी सवारी साधनलाई इन्धन

आयल निगमले उपत्यकामा आज एक दिनका लागि सबै पम्पबाट निजी सवारी साधनलाई पेट्रोल–डिजेल वितरण गर्ने भएको छ । उपत्यकामा रहेका करिब १२५ पम्पबाट मङ्गलबार दिउँसो १२ बजेबाट निजी सवारीसाधनमध्ये मोटरसाइकललाई पाँच लिटर र चारपाङ्ग्रे कार, जिप–भ्यानलगायतलाई १५ लिटरका दरले इन्धन उपलब्ध गराउन लागिएको हो ।

दसैँमा सवारीसाधन चलाउन सजिलो हुने गरी अर्को निर्णय नहुन्जेलसम्म निजी सवारी साधनलाई मङ्गलबार मात्रै इन्धन उपलब्ध गराइने व्यवस्था मिलाइएको वाणिज्य तथा आपूर्ति मन्त्रालयका आपूर्ति हेर्ने उपसचिव शिवप्रसाद त्रिपाठीले जानकारी दिनुभयो । इन्धनको अभावका कारण देशभर कममात्रामा सार्वजनिक सवारी साधन चलेका छन् । उद्योग, कलकारखाना र विद्यालय पनि सञ्चालन हुन सकेका छैनन् ।

0 comments:

Post a Comment

!!!!!!!!!!

Categories

Blog Archive