अपाङ्ग भइकन मागेर ३२ बेसहारालाई हुर्काउँदै समाजसेवी कार्की
मेलम्ची, २६ असोज । पाँचथर जिल्लामा जन्मनुभएका तिलबहादुर कार्की २०३८ सालमा काठमाडौँ आउनुभयो । उहाँलाई काठमाडौँ आउने कुनै रहर थिएन । विसं २०२९ मा पाँचथर जिल्ला सरलाङ गाविस–४ मा जन्मनुभएका उहाँ जन्मजात नै शारीरिक रुपमा अपाङ्ग हुनुहुन्थ्यो ।
आफ्नो अपाङ्गतालाई लिएर दिनानुदिन घरपरिवार र छिमेकले अपहेलना र मानसिक यातना दिन थालेपछि जन्म दिएको छोरालाईसमेत छोडेर आमा माइत गएर बस्नुभयो । कार्कीलाई समेत परिवारले अपाङ्ग भनेर लगातार हेप्न थालेपछि सात वर्षको उमेरमा २०३८ सालमा बसको ‘डिकी’मा लुकेर काठमाडौँ छिर्नुभयो । दुवै हात खुट्टामा छ÷छ वटा आँैला भएका उहाँ शारीरिक रुपमा अपाङ्ग हुनुहुन्छ ।
सात वर्षको उमेरमा काठमाडौँ भित्रिएपछि पसल–पसल माग्दै हिँड्दा कसैले पनि खानेकुरा नदिएको तीतो अनुभव उहाँसँग छ । अपाङ्ग भए पनि उहाँले होटलमा भाँडा माझ्न थाल्नुभयो । एक महिना भाँडा माझ्दा उहाँका हातका मासु कुहिने लक्षण देखापरेपछि पानी छुन नहुने भयो । यो विपद्पछि आफू अपाङ्ग भएकाले पढ्न र खान पाउँ भन्दै जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रसँग गुहार्न पुग्नुभयो तर यहाँ पनि उहाँलाई आश्रय मिलेन ।
पेट भर्न अब उहाँले बौद्ध र त्यसपछि पशुपतिनाथमा माग्न थाल्नुभयो । यस्तो समस्या र पीडा आफूलाई जस्तै अरूलाई पनि परेको होला भन्ने सोचले उहाँमा परसेवाको भावना जन्मियो र तिनीहरूका लागि केही गर्नुपर्छ भनेर मागेर पैसा जम्मा गर्न थाल्नुभयो । पशुपतिमा दिनदिनै मागेर जम्मा भएको पैसा जयबागेश्वरी जङ्गलमा गाडेर राख्न थाल्नुभयो । यसरी सङ्कलन गरेको पैसा २५ वर्षपछि गौशाला वडा प्रहरी कार्यालयका तत्कालीन प्रहरी निरीक्षकको रोहबरमा निकाले तर अधिकांश कागजी नोट कुहिएको पाए । दन्त्य कथा झै लाग्ने उहाँका यी व्यथा यत्तिकैमा टुङ्गिएन । बाँकी सिक्का पैसा प्रहरीको सहायता लिएर गन्दा पाँच लाख जति मात्रै भएछ । त्यही पैसाको भरमा उहाँले २०६४ सालमा संयुक्त अपाङ्ग एकता आवाज केन्द्र संस्था दर्ता गर्नुभयो र आफूजस्ता अपहेलित बालबालिका र द्वन्द्वपीडितको सहयोग गर्ने अभियान सञ्चालन गर्नुभयो ।
उहाँले काठमाडौँको शान्तिनगरको एक टहरामा दैनिक आठ हजार भाडा तिरेर आश्रम सञ्चालनमा ल्याउनुभयो । द्वन्द्वकालमा आमाबाबु गुमाएका र शारीरिक रुपमा अपाङ्ग १३ बालबालिकालाई आश्रय दिँदा उहाँले उनीहरूको लालनपालनका लागि एक्लो प्रयासमा दैनिक घर, पसल, व्यापारी, सामान्य नागरिक जो कोहीसँग अन्न, खाद्यवस्तु र पैसा माग्नुभयो । अरूसँग माग्दा केही सजिलो होला भन्ठानेर उहाँले आफ्नो वास्तविक जीवनमा घटेको घटनाको एक वृत्तचित्र बनाएर देखाउने गर्नुभयो । उहाँलाई चारैतिरबाट धेरथोर सहयोग मिली नै रह्यो ।
शान्तिनगरबाट चपली भङ्गालमा एक व्यक्तिको घर भाडामा लिएर सञ्चालन गरिएको उक्त संस्थाको पाँच वर्षे सम्झौता सकिएपछि अहिले उहाँले कपन चुनिखेल–२ मा एउटा पूरै घर भाडामा लिएर संस्था सञ्चालन गरिरहनुभएको छ ।
अहिले यहाँ कालिकोट, दैलेख, बर्दिया, मुगु, ताप्लेजुङ र तेह्रथुमलगायत विभिन्न जिल्लाका द्वन्द्वकालमा आमा÷बाबु गुमाएका, पहिरो र बाढीबाट बेसहारा भएका र अपाङ्ग गरी ३२ बालबालिका आश्रय लिइरहेका छन् ।
आफूले अहिलेसम्म सरकारी वा गैरसरकारी कुनै सङ्घसंस्थाबाट सहयोग नपाएकामा उहाँ दुःख व्यक्त गर्नुहुन्छ । वृत्तचित्र देखाएरै सहयोग जुटाएर बालबालिकालाई हुर्काएको उहाँ दाबी गर्नुहुन्छ । आफूले पढाउँदै आएको दुई विद्यार्थीले २०७१ सालमा आफ्नो संस्थाबाट प्रथम श्रेणीमा प्रवेशिका परीक्षा उत्तीर्ण गरेको उहाँ सगर्व बताउनुहुन्छ । महँगी र पहिले जस्तो मागेर नपाइने भएकाले उहाँले सहयोगका लागि सबैसँग अपिल गर्नुभएको छ ।
महिनामा घरभाडा, विद्यालय शुल्क, बिजुली, खानेपानी र खाद्यान्नमा मात्रै दुई लाखको हाराहारीमा खर्च हुने उहाँ बताउनुहुन्छ । आफूले अहिलेसम्म मागेरै शुल्क तिर्दै आएको र केही अझै तिर्न बाँकी रहेको उहाँको भनाइ छ । उहाँलाई दिनदिनै खाइनखाई बालबालिकाको लागि माग्न हिँड्नु परेको छ । दसँै तिहार जस्ता चाडमा राम्रो लगाउने मिठो खाने बालबालिकाको साना इच्छा पूरा गरिदिन पाए आफूलाई सन्तोष मिल्ने उहाँ बताउनुहुन्छ ।
उहाँले बालबालिकाको स्याहारका लागि तीन जना महिला सहयोेगी समेत राख्नुभएको छ । उनीहरूले खाने बस्ने सुविधासहित मासिक रु तीन हजार पाउँछन् ।
यस संस्थामा आश्रित ३२ जना बालबालिका अहिले नजिकैको गणेश उमावि, नौलिङ उमावि र पिक प्वाइट एकेडेमी कपन चुनिखेलमा पढिरहेका छन् ।
विसं २०६२ मा आफ्नो बुबालाई माओवादी विद्रोहीहरूले हत्या गरेपछि पढ्ने धोको अधुरो बनेका दैलेखका डम्बर कटुवाल आफूलाई कार्कीले जिल्लाबाट काठमाडौँ ल्याएको र आफ्नै सन्तान सरह पालनपोषण र शिक्षा दिएको अनुभव सुनाउनुहुन्छ ।
चार वर्षको उमेरदेखि कार्कीको काखमा रहेरै हुर्किंदै आएकाले आफूले टुहुरो र अभिभावकविहीन महसुस गर्न नपरेको मुगु जिल्लाका डिभी बानियाँले बताउनुहुन्छ । अहिले डिभी र डम्बर कक्षा ११ मा अध्ययनरत छन् ।दुवैको डाक्टर बन्ने इच्छा थियो । संरक्षण दिने आफ्नो संस्थाको आर्थिक स्थिति कमजोर भएका कारण डाक्टर पढ्न नपाएको उहाँहरूको दुखेसो छ ।
आदित्य दाहाल
0 comments:
Post a Comment