मुस्ताङबाट दुई सयभन्दा बढी योजना माग
मुस्ताङ, २५ असोज । मुस्ताङको नौवटै इलाकाबाट दुई सयभन्दा बढी योजना माग भएका छन् । आगामी आव ०७३÷७४ मा सञ्चालन हुने गरी गाउँ परिषद् हुँदै इलाका परिषद्मा उक्त माग आएका हुन् ।
कात्तिक महिनादेखि उपल्लो मुस्ताङका छ गाविसमा अत्यधिक चिसो हुने र स्थानीयवासी जाडो छल्न बेँसी झर्ने हुँदा असोज महिनामा नै इलाका परिषद्हरु सम्पन्न गरिएको जिविस मुस्ताङका कार्यक्रम अधिकृत केदारसिंह थापाले जानकारी दिनुभयो ।
“जिल्लाको १६ वटै गाविसलाई नौ इलाकामा विभाजन गरेर हामीले परिषद् सम्पन्न ग¥यौँ अब जाडो कम भएपछि फागुन महिनामा जिल्ला परिषद् गर्छौं” – कार्यक्रम अधिकृत थापाले भन्नुभयो – “इलाकाहरुबाट २०० भन्दा बढी योजना माग भएका छन् । त्यसलाई प्राथमिकताका आधारमा पूरा गर्दै जाने हो ।” लोमान्थाङ, जोमसोम, मार्फालगायतका इलाकाबाट बढी योजनाका माग आएको जिविसले जनाएको छ ।
जिल्लामा साना सिँचाइ, पूर्वाधार निर्माण, सडक स्तरोन्नति, विद्यालय भवन निर्माणलगायतका योजना बढी आउने गरेका छन् । प्राप्त मागहरुका विषयमा गाविस, साझेदार कार्यालय र सङ्घसंस्थासँग छलफल गरी सम्भव भएसम्म सम्बोधन गरिने जिविसले जनाएको छ । चालु आवमा जिविसले रु १० करोडभन्दा बढीको विकास योजना सञ्चालन गरिरहेको छ ।
0 comments:
Post a Comment